भूमिमन्त्री अधिकारीलाई बर्खास्त गर्न एमाले कास्कीको माग

काठमाण्डु टुडे २०८२ साउन ३ गते १९:३३ मा प्रकाशित

काठमाण्डू, ३ साउन– एमाले कास्कीले घूस डिल प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेकोछ ।

शनिबार पोखरामा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले अधिकारीलाई बर्खास्त गर्न सरकार र पार्टी नेतृत्वसँग माग गरेको हो ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारीले भूमि व्यवस्थामन्त्री अधिकारीले घुस लिएको भन्नेबारे छानबिनमार्फत सत्य तथ्य पत्ता नलाग्दासम्म पदमुक्त गर्न माग गर्ने निर्णयसहित लिखित प्रस्ताव केन्द्रीय कमिटीमा पठाइएको जानकारी दिए ।

अधिकारीका अनुसार बैठकमा एमालेलाई भ्रष्ट, दलाल र बिचौलियाको आश्रयस्थल बनाउन खोजिएको भन्दै धेरै सदस्यले आपत्ति जनाएका थिए ।
पोखरा महानगरपालिका–१६ दीपस्थित १ सय ३५ रोपनी लिची बगैंचा हडप्ने विषयमा बिचौलियासँग मन्त्री अधिकारीले ३२ लाख रकम माग गरेको अडियो केही दिनअघि बाहिरिएको थियो ।

यसैबीच मन्त्रीसँग घूस डिल गरेका एमाले गण्डकी प्रदेशको सल्लाहकार परिषद् सदस्य सुजन लामाको पार्टी सदस्यता नवकिरण नगरिएको अधिकारीले बताएका छन् ।

लामाले भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्त गर्न घूस डिल गरेको प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसअघि नै राजीनामा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us