काठमाण्डू, २ साउन –एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्य नरहेको बताएका छन् ।
पार्टी पोलिट्ब्युरो बैठकमा शुक्रबार ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको बताएका हुन् ।
गत १४ असारमा पति मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित ओली प्रमुख अतिथि रहेको कार्यक्रममा भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । ‘विद्याजीको पार्टी सदस्यता नवीकरण भएको छैन’, ओलीले भने, ‘पार्टीमा छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ ।’
ओलीले भण्डारी राजनीतिमा फर्कन नहुने आफ्नो मत रहेको पनि बताए । पार्टी राजनीतिमा नफर्कने सर्तमा मात्र दोश्रो कार्यकाल भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याइएको खुलासा ओलीले गरे ।
उनले भण्डारीले सक्रिय राजनीतिमा फर्कने विषयमा आफू र पार्टीलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाए । उनी सक्रिय राजनीतिमा फर्कनेबारे आफूले सञ्चार माध्यमबाट थाहा पाएको उल्लेख गरे ।
पार्टीमाथि संगठित रुपमा ठूलो हमला भइरहेका बेला भित्रैबाट बबण्डर मच्चाउन खोजेको आरोप उनले भण्डारी पक्षलाई लगाए । पार्टीमा अराजकता बढेको भन्दै ओलीले पार्टीले त्यस्तो प्रवृत्तिविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमाले राजनीतिमा तरंग उत्पन्न भएको छ ।