स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र

काठमाण्डु टुडे २०८२ साउन २ गते १८:०७ मा प्रकाशित

काठमाण्डू, २ साउन– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । असार ३१ मा गठित सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले पत्राचार गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

समितिले दूतावासलाई भिजिट भिसा लिँदा पेस गरेको कागजात सहितको विवरण मागेको छ । स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको घटनाबारे सो समितिले छानबिन गरिरहेको छ । समितिमा मानव बेचविखन ब्युरोका एसपी रुगम कुँवर, सीआईबीका डीएसपी हरि बस्नेत र इन्स्पेक्टर शेखर खड्कासहित ६ जना सदस्य छन् ।

स्पेनको सेभिल्लामा असार १६ देखि १९ सम्म आयोजित ‘इन्टरनेशनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स एफएफडी–४’ मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री सहभागी कार्यक्रममा फर्जी कागजात बनाएर अन्य व्यक्तिहरू पनि स्पेन गएको र त्यहीँ लुकेको भनेर संसदमा आवाज उठेको थियो ।

संसदमा त्यसबारे चर्को विरोध भएसँगै गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठन गरेका हुन् । असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर दिल्लीस्थित स्पेनी दूतावासबाट भिसा लगाएर त्यसतर्फ पठाइएको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us