एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैनः माधव नेपाल

काठमाण्डु टुडे २०८२ साउन २ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको तर्क गरेका छन ।

साथै, अध्यक्ष नेपालले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने पनि बताएका छन । अध्यक्ष नेपाले भने, ‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौं । त्यसप्रति लसपस कसैको छ भने आशा छ भने मेरो भन्नु केही पनि छैन ।’

आज (शुक्रबार) आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले एमालेकै नेताहरूबाट आएका अभिव्यक्ति पनि आफ्नो पार्टी सक्काउने र प्रहार गर्ने गरी आइरहेको पनि बताएका छन । अध्यक्ष नेपालले भने, ‘यो पार्टीसँग उसको संलग्नको कुरा गर्ने हो भने त्यहाँका नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, यो पार्टी कसरी सक्काउने, कसरी प्रहार गर्ने भन्ने उनीहरूले भनिरहेको हामीले बुझिरहेका छौं ।

यो पार्टीलाई बलियो बनाउनका लागि आजको घटनाले निकै राम्रो भूमिका खेल्ने छ ।’उनले आफ्नो पार्टीको शक्तिका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको उनले जिकिर गरे । ‘विचार सिद्धान्त मिलेको खण्डमा अरु कुरा पनि मिलेको खण्डमा त्यस्ता त्यस्ता समूहसँग मिलेर पनि अघि जानसक्छौं,’ अध्यक्ष नेपालले भने, ‘हामी त्यसलाई पहिलो महत्व दिँदैनौं ।

पहिलो महत्व आफ्नो पार्टी एक बनाउन लाग्छौं । आफ्नो पार्टी बलियो भयो भने मात्रै अरुसँगको एकता सार्थक र अर्थपूर्ण हुन्छ । हाम्रो पार्टीको शक्तिको कारणले पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेका छौं ।’ अध्यक्ष नेपालले कसैप्रति पनि आग्रह नपालिकन काम गर्नुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले जिम्मेवारी पूरा गर्नेगरी ध्यान दिन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us