अंगालोमा बाँधिए माधव–झलनाथ–बामदेव

काठमाण्डु टुडे २०८२ साउन २ गते १६:२५ मा प्रकाशित

काठमाण्डू, २ साउन– नेकपा एमालेभित्रको राजनीति अन्तरसंघर्षले तरंगित भइरहँदा सोही पार्टीको नेतृत्व तहमा लामो समय बिताएका तीन नेता भने बिहीबार एकाएक अंगालोमा बाँधिन आइपुगेका छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेतृत्वको पार्टीबीच काठमाण्डूमा आयोजित एकता घोषणा कार्यक्रममा यस्तो दृश्य देखिएको हो ।

एकता सभामा नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेकोदेखि ४ वर्षअघि नै आएको भए समाजवादको अभियान नै सुरु भइसक्नेसम्मको दाबी गरे । तर, त्योभन्दा रोचक दृश्य भने उनले बोलेर मञ्चमा फर्किंदा देखियो ।

नेता गौतमलाई मञ्चमा बसेका नेताहरू माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागतका लागि खादामाला लिएर बसेका थिए । गौतम आइपुगे । सिधै अध्यक्ष नेपालले स्वागत गरे ।

अंगालोमा बाँधिए । हलमा ताली बज्यो । नेताहरू हँसमुख देखिए । सम्बोधनको अधिकांश समय नेता गौतमले कम्युनिष्ट पार्टी एकता, समाजवाद निर्माण र आफ्नो उद्देश्य बारे चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us