आदेशबाट पार्टी चलाउने प्रवृत्तिविरुद्ध सघन संघर्ष गरिन्छः कर्ण थापा

काठमाण्डु टुडे २०८२ साउन २ गते १३:३५ मा प्रकाशित

काठमाण्डू, २ साउन– एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आदेशबाट पार्टी चलाउने विद्यमान प्रवृत्ति अन्त्य गर्न अन्तरसंघर्ष सघन बनाइने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले पार्टी आदेशबाट नभई विधिबाट चल्नुपर्ने बताए । थापाले पार्टी नेतृत्व चयन र सञ्चालन विधि स्थापित लोकतान्त्रिक मान्यताबाट कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्ने त्यसलाई तोडेने भन्ने विषयमा सचिवालय बैठकमा गम्भीर बहस सुरु भएको उल्लेख गरे ।

‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धी स्थापित लोककतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ, एमालेको सचिवालयको बैठकमा’, उनले लेखेका छन्, ‘कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौं । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तरसंघर्षलाई सघन बनाऔं । मर्यादा र शिष्टताका सीमालाई सबैले पालना गरौं ।’

बिहीबार राति अबेरसम्म पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको थियो । बैठकले पदाधिकारी १५ सदस्यीय र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय रहने पनि निर्णय गरेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानबाट हटाइएको छ । सचिवालयको व्यवस्था हटाएर स्थायी कमिटीमा पदाधिकारी मात्र रहने व्यवस्था प्रस्ताव गरिएको छ । वरिष्ठ उपाध्यक्ष ईशवर पोखरेलले बैठकमै त्यसप्रति आपत्ति जनाएपछि अध्यक्ष केपी ओली र उनीबीच भनाभन भएको थियो ।
पोखरेलले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाइए पार्टीको लोकतान्त्रिकरण प्रक्रियालाई धक्का पुग्ने अभिव्यक्ति दिएपछि ओलीले बीचैमा हस्तक्षेप गरेका थिए । ओलीले आफू बोल्दाबोल्दै बीचैमा रोकेपछि आक्रोशित भएका पोखरेलले लोकतान्त्रिकरणका लागि समस्या भएको तथा कार्यकर्ता र जनआकांक्षाअनुसार पार्टी सञ्चालन गरेकाले नेतृत्व छाड्न ओलीलाई चुनौती दिए ।

ओलीको कार्यशैली पार्टी निर्माणका लागि बाधक भएको आरोप पनि उनले लगाए । पोखरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काउने अभियानमा छन् । गत १४ असारमा पति मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी थिइन् । उक्त कार्यक्रममा भण्डारीभन्दा अघि बोलेका पोखरेलले उत्तेजक भाषण गरेका थिए ।

स्थायी समिति सदस्य थापाले ओलीलाई पोखरेलले काउण्टर गरेको विषयलाई लिएर गम्भीर बहस सुरु भएको बताएका हुन् । पोखेलले बोल्दै गर्दा ओलीले बीचैमा उनलाई रोकेका थिए । ओलीले पोखरेलमाथि कर्ण थापाको प्रवक्ताका रुपमा प्रस्तुत भएको आरोप लगाए । थापा पूर्वराष्ट्रपति भण्डारी समूहमा खुलेरै लागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us