काठमाण्डू, २ साउन– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई सार्वजनिक रूपमै आग्रह गरेका छन । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमा एक पोस्ट पोलिटब्युरो सदस्य हरुलाई यस्तो आग्रह गरेका हुन ।
सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल भएको उल्लेख गर्दै पोलिटब्युरो र केन्द्रीय समितिमा पनि परिमार्जन गर्नेगरी छलफल गर्न आग्रह गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले लेखेका छन, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो, ‘आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ ।’ उनले थपेका छन्, ‘पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ ।’
एमालेको सचिवालय बैठक विहीबार राति मध्यरातसम्म चलेको थियो । पोलिटब्युरो बैठक शुक्रबार ३ बजेका लागि बोलाइएको छ । विहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
साथै, दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी भदौमा हुने विधान महाधिवेशन प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ । बैठकमा पोखरेल लगायतका केही नेताहरूले यसमा फरक मत राखेका छन् ।