काठमाण्डू, २ साउन– प्रधानमन्त्री केपी ओलीले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ कुरा गरेको स्वीकार गरेका छन् ।
पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले पहिलोपटक आफूले त्यो भनेको स्वीकारेका हुन् ।
काँग्रेससँग गत वर्ष १७ असारको मध्यरातमा सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गर्नुअघि दिउँसो ओलीले तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा लामो वार्ता गरेका थिए ।
एमाले त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा सहभागी थियो । काँग्रेस र एमालेबीच सत्ता सहकार्यको गृहकार्य भइरहेको चर्चाबारे प्रचण्डले ओलीसँग जिज्ञाशा राखेका थिए ।
तर, ओलीले काँग्रेसका कारण मुलुक धेरै पछि परेको भन्दै कुनै हालतमा नमिल्ने जवाफ फर्काए । प्रचण्डलाई आश्स्वस्त तुल्याउन ओलीले ‘दाजुभाई स्वर्ग र नर्क सँगै जाने, तर, नछुट्ने बाचा गरेका थिए ।
अन्तिमपटक गत ३१ असारमा प्रतिनिधिसभामा विशेष समय लिएर बोलेका प्रचण्डले ओलीले आफूलाई ‘स्वर्ग र नर्क’ को कुरा गरेर धोका दिएको स्मरण गरे । त्यसअघि पनि उनले पटकपटक सो अभिव्यक्ति दिँदै आएका छन् । आफूलाई ‘स्वर्ग–नर्क’ को कुरा गरेर ढाँटेका ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि त्यस्तै गर्ने दाबी गरे ।
पाण्डेसँगको अन्तवार्तामा ओलीले भने, ‘प्रचण्डजी र मेरोबीचमा स्वर्ग जाने नर्क जाने सम्बन्ध थियो । मैले त्यो भनेको हो’, ओलीले भने, ‘तर, उहाँले मलाई पटकपटक धोका दिनुभयो ।’
मौखिक रुपमा मात्र नभई लिखिकै सम्झौता गरिएको विषयमा समेत प्रचण्डबाट धोका खाएको उनको भनाइ थियो । ‘हाम्रो बीचमा मौखिक मात्र होइन, धेरै शब्दमा धेरैपटक लिखितमा सहमति भएका हुन् । धेरैपटक धोका भएका हुन्’, ओलीले भने ।