म विशिष्ट जानकार होइन, बुद्धि कम भएको मान्छे हुँः ओली

काठमाण्डु टुडे २०८२ साउन २ गते ९:१५ मा प्रकाशित

काठमाण्डू, २ साउन–प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफलाई विशिष्ट जानकार र बुद्धिमान नभई बुद्धि कम भएको मानिसको संज्ञा दिएका छन् ।
पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले आफू इमान्दार भने रहेको दाबी गरे । आफूले विश्वास गरेका मानिसहरुबाट पटकपटक धोका खाएको उनको भनाइ थियो । ‘म मान्छेले भनेपछि विश्वास गर्छु । र कहिले कहिले धोका खान्छु । म एकदम हरेक गोल पोष्टमा हान्ने खेलाडी होइन । मेरा थुप्रै गोलहरु मिस हुन्छन् । अथवा म अरुभन्दा कुनै विशिष्ट व्यक्तित्व, विशिष्ट व्यक्ति, विशिष्ट जानकार, विशिष्ट बुद्धिमान त्यस्तो केही ठान्दिन । अलिक बुद्धि कम भएको मान्छे हुँ । इमान बढी भएको’, ओलीले भने ।

आफूले भावनाले बढी काम गर्ने गरेका कारण कहिले काहीं मान्छेहरुप्रति बढी विश्वसस्त हुने हुँदा धोका खाएको ओलीले बताए ।

‘भावनाले बढी काम गर्ने गरेका कारण कहिलेकाहीं अलिकति भावनाले काम गर्छु । त्यो भावनाले गर्दा मान्छेहरुप्रति बढी विश्वसस्त हुने अथवा त्यस्तो कुराहरुमा कहिले–कहिले मैले बढ्तै विश्वास गरेर धोका पाउने’, ओलीले भने, ‘कालान्तरमा गएर के ठानेको के निक्लियो जस्तो मैले पाउँछु । विश्वास गर्न नसक्ने खालका मान्छेमाथि पनि ‘अब मलाई विश्वास गर्नुस्’ भनेपछि विश्वास गरेको छु ।’

ओलीले आफूले कहिल्यै व्यक्तिगत स्वार्थका लागि काम नगरेको दाबी गरे । ‘मैले कहिल्यै व्यक्तिगत स्वार्थका लागि होइन मुलुकको स्वार्थका लागि काम गरेको छु । देशका विरुद्ध काम गरेको छैन’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us