काठमाण्डू, २ साउन– एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भनाभन भएको छ ।
आगामी भदौ अन्तिम साता हुने विधान अधिवेशनमा प्रस्तुत गर्ने विधान मस्यौदाबारे छलफल गर्न बिहीबार राति अबेरसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा पोखरेल र ओलीबीच भनाभन भएको हो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका थिए । उक्त मस्यौदामा पोखेरलको वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्तावप्रति पोखरेलले आपत्ति जनाएका थिए ।
उनले उक्त व्यवस्था पार्टीको लोकतान्त्रिकरण र नेतृत्व हस्तान्तरणविरुद्ध रहेको भन्दै आपत्ति जनाए । उनले यसअघिको ७० वर्षे उमेर हद र दुई कार्यकालबारे तीनवटा विधान छापिएको विषय उठाएका थिए ।
पोखरेल बोल्दाबोल्दै ओलीले उनलाई बीचैमा रोकेपछि विवाद भएको हो । ओलीले स्थायी समिति सदस्य कर्ण थापाको नाम लिएर पोखरेलमाथि उनको एजेण्डा बोकेर आएको आरोप लगाए । ओलीलाई पोखरेलले तत्काल जवाफ फर्काए । ‘मलाई कर्ण थापासँग जोडेर नहेर्नुस् । मैले आफ्नो स्वतन्त्र विचार, पार्टीको संस्थागत विधिसम्मत विषयमा बोलेको छु’, पोखरेलले भने ।
उनी यत्तिमै रोकिएनन् । आफूमाथि अध्यक्षले नै कर्ण थापाको एजेण्डा बोकेको आरोप लगाएपछि आक्रोशित भए । पोखरेलले आक्रोशमा ओलीलाई पार्टी नेतृत्वबाट हट्न भने । ओलीको शैलीका कारण कार्यकर्ता र जनतासँग पार्टी नेतृत्वको दूरी बढेको आरोप लगाए ।
‘तपाईंको तरिका र शैलीका कारण जनता र कार्यकर्तामा पार्टीप्रति विश्वास घट्दै गयो’, ओलीले भने, ‘अब तपाईंले पार्टी नेतृच्त्व छाड्नुस् ।’ एमालेको लोकतान्त्रिकरणका लागि पनि अोली बाधक हरेकाले उनले नेतृत्व छाड्नुपर्ने तर्क पोखरेलको थियो ।
ओलीले पार्टीमा बेलाबेला चल्ने वैचारिक बहसलाई पनि निन्दा, झगडा वा विरोधको संज्ञा दिएर ओलीले लोकतान्त्रिकरणको प्रक्रियालाई बन्ध्याकरण गर्ने प्रयास गर्दै आएको पोखरेलले उल्लेख गरे ।