काठमाण्डू, २ साउन –एमाले स्थायी समिति सदस्य खजराग अधिकारीले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको चाहना र सहयोगबिना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय सदस्य पनि बन्न नसक्ने बताएका छन् ।
अधिकारीले राष्ट्रप्रमुखको जिम्मेवारीमा रहिसकेको व्यक्ति पार्टी राजनीतिमा आउन खोज्नुलाई राम्रो नभएको टिप्पणी गरे । ओलीकै विकल्प खोज्नुपरे पनि एमालेमा भण्डारीभन्दा सक्षम धेरै नेता रहेको अधिकारीको भनाइ छ ।
‘राष्ट्रप्रमुख रहिसकेको व्यक्ति फेरि पार्टी राजनीतिमा आउँदा एमालेलाई त फाइदै पुग्ला । तर, एमालेले पार्टी मात्र हेर्दैन’, अधिकारीले भने, ‘विद्या राजनीतिमा आउनु भनेको संविधान र गणतन्त्रमाथि नै प्रश्न उठाउनु हो । केपी ओलीको चाहनाविपरीत उहाँ पार्टी अध्यक्ष त के केन्द्रीय सदस्य पनि बन्न सक्नुहुन्न ।’
१४ असारमा मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको जानकारी गराउँदै सक्रिय राजनीतिमा पर्कने घोषणा गरेकी थिइन् । त्यसयता एमालेमा भण्डारी र ओलीको पक्षमा तीव्र ध्रुवीकरण भएको छ ।