काठमाण्डू, २ साउन –एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कने बाटो करिब बन्द गरेको छ ।
बिहीबार राति अबेरसम्म च्यालसस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई रोक्ने प्रावधानसहितको विधान मस्यौदा पारित गरेको हो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
अब स्थायी समिति र केन्द्रीय समितिले पनि प्रस्तावित व्यवस्थासहित विधान मस्यौदा अनुमोदन गरे भण्डारीलाई पार्टी राजनीतिमा फर्कन सकस पर्ने देखिएको छ ।
विधान मस्यौदामा गत १०औं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने व्यवस्था राखिएको छ । १०र्आैं महाधिवेशन हुँदा भण्डारी राष्ट्रपति थिइन् । उपमहासचिव प्रदीपकुमार ज्ञवालीले १०औं महाधिवेशनका प्रतिनित्रि मात्र विधान महाधिवशेनमा सहभागी बन्न पाउने बताए ।
यस्तै उनले विधानमै व्यवस्था नभएकाले विधान महाधिवशेनका प्रतिनिधि मनोनित हुन नसक्ने पनि स्पष्ट गरे । भण्डारीले केही दिनअघि सार्वजनिक कार्यक्रममै पार्टीमा विशिष्ट योगदान गरेका र १०औं महाधिवेशनपछि अन्य पार्टीबाट आएकाहरुलाई मध्यनजर गर्दै विधान महाधिवेशनको प्रतिनिधि मनोनित गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी थिइन् ।
यो निर्णयमा केन्द्रीय समितिले पुनर्विचार नगरे भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न पाउने छैनन् । आगामी २० देखि २२ भदौसम्म ललितपुरको गोदावरीमा एमालेले विधान महाधिवेशन गर्दैछ ।
एमाले सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षको प्रावधान हटाएर पदाधिकारी संख्या १५ रहने पनि निर्णय गरेको छ । यस्तै केन्द्रीय कमिटीको आकार भने २ सय ५१ सदस्यीय हुने व्यवस्थाबारे सचिवालयले निर्णय गरेको छ ।
यस्तै अब एमालेले सचिवालय हटाएर स्थायी कमिटी मात्रै रहने व्यवस्था गरेको छ । स्थायी कमिटीमा पार्टीका पदाधीकार मात्र सदस्य हुनेछन् ।