काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न पनि आफु तयार रहेको बताएका छन । आज (बिहीबार) मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु ।’ उनले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने तर्क समेत गरे ।
आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको तर्क गरेका छन । उनले केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनको क्रममा बताए । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए,’ उनले भनेका छन् ।
साथै, उनले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको पनि बताए । मन्त्री अधिकारीले भने, ‘मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन । मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन । उहाँले जान्न भन्नुभएको थियो होला, ‘उहाँ मुद्दामा पनि जानुभयो । गएपछि उहाँको फैसलामा आएन ।
अहिले आएर जोडेर अब मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर हाम्रो चरित्र हत्या गर्ने र आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ ।’ पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।