विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्छः ओली

काठमाण्डु टुडे २०८२ साउन १ गते १५:२५ मा प्रकाशित

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने धारणा राखेका छन । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए । पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह खुलासा गरेका छन ।

एमाले अध्यक्ष ओलीले भनेका छन, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन ।’ ओलीले पार्टीको वैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताए । उनी थप्छन्, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन ।

हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति हुने भएपछि पार्टी छोड्नुभयो । पार्टी छोडेर जानुपर्छ । छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो ।’ भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ भन्ने प्रश्नमा ओली भन्छन्, ‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिकरूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै ।’

कहिलेसम्ममा निर्णय गर्छ भन्ने प्रश्नमा ओलीले ठोस जवाफ दिएनन् । ‘त्यो हेर्नुपर्छ । सल्लाह गर्नुपर्छ । उहाँले आफैंले विचार गर्नुपर्छ । खोइ के बोलिराख्नुभएको छ । मैले त‘ हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिकरूपमा बोलेका कुराहरूमा हामीले उहाँसँग सोध्नुपर्छ । धेरै ढिला गर्दैनौं’, ओलीले भने ।

विजयकुमारले प्रश्न राखे– यो कतै तपाईंले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि सुविचारितरूपमा लिएको रणनीति त होइन ? ओलीले स्पष्ट शब्दमा नकारे । एक छिन हाँसेपछि उनले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । दोस्रो, पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसित छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us