जहाँ सरकार त्यहाँ भ्रष्टाचारः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन १ गते १३:५९ मा प्रकाशित

काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल मोडमा रहेको बताएका छन । आज (बिहीबार) ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको पनि बताए । उनले अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको पनि बताए ।

उनले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको पनि बताएका छन । अध्यक्ष प्रचण्डले भने, ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’

प्रचण्डले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरू विरुद्ध सफलता हात पार्न सक्ने बताए । आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने उनले चेतावनी समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us