कुलमान घिसिङले उज्यालो नेपाल अभियान चलाउने !

काठमाण्डु टुडे २०८२ साउन १ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, १ साउन– नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ‘उज्यालो नेपाल अभियान’ चलाउने घोषणा गरेका छन । घिसिङले देशमा मौलाएको निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका हुन ।

बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले यसबारे जानकारी गराएका हुन । उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेका हुन्। घिसिङले आफ्नो नयाँ अभियानको मुख्य उद्देश्य देशमा आशा जगाउनु र आत्मविश्वास बढाउनु रहेको पनि बताएका छन ।

उनले भने, ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन, यो हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो।’ यो अभियानले देशमा राम्रो काम गर्न चाहनेहरूका लागि एउटा बलियो शक्ति निर्माण गर्नेछ र असल नेतृत्व जन्माउन दबाब सिर्जना गर्ने उनले बताए । यदि स्थापित राजनीतिक दलहरूले असल नेतृत्व दिन नसके यही अभियानभित्रबाट नयाँ नेतृत्व जन्माउन सकिनेतर्फ समेत उनले बताए ।

घिसिङले देशमा राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुको साटो अपमानित गर्ने र पदबाट हटाउने गलत प्रवृत्ति हाबी भएकोमा कडा आलोचना गरे। उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘लोडसेडिङ अन्त्य गर्ने, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने र भारतमा बिजुली निर्यात गर्ने जस्ता कामको पुरस्कारस्वरूप मलाई बर्खास्त गरियो ।’

उनले थपे, ‘यस्तो प्रवृत्तिले देश बनाउन चाहने युवाहरूमा गम्भीर निराशा पैदा गर्छ। यदि राम्रो काम गर्दा यस्तो परिणाम भोग्नुपर्छ भने कसले देशका लागि काम गर्ने ?’ पछिल्लो समय देशका विभिन्न भागमा अघोषित लोडसेडिङ बढेको प्रति गुनासो आएको उल्लेख गर्दै घिसिङले यस्तो हुनु दुःखद भएको बताए। उनले भने, ‘विद्युत प्राधिकरण संकटमा छ र घाटामा गयो भनेर गलत प्रचार गरिँदैछ।

यो देशको अर्थतन्त्र र जनताको आत्मविश्वास कमजोर बनाउने प्रयास हो।’ उनले आफूले छोड्दा नाफामा रहेको संस्थाको अहिलेको अवस्थाबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । हालै खाडी मुलुकको भ्रमणबाट फर्केका घिसिङले त्यहाँ लाखौँ ऊर्जाशील नेपाली युवाहरूले पसिना बगाएर अरूको देश बनाइरहेको तर आफ्नो देशको भविष्यबारे चिन्तित रहेको बताए ।

उनले भने, ‘खाडीका युवाहरू सोध्छन्, हाम्रो देश किन बनेन ? हामी फर्केपछि हाम्रो भविष्य के हुन्छ ? उनीहरूको यो प्रश्नले देशको नेतृत्वलाई पोल्नुपर्छ।’ उनले खाडी मुलुकको समृद्धि उनीहरूको प्राकृतिक स्रोत र असल नेतृत्वका कारण सम्भव भएको बताउँदै नेपालमा सम्भावना भएर पनि नेतृत्वकै कारण विकास हुन नसकेकोतर्फ औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us