विवादास्पद मन्त्री अधिकारीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै

काठमाण्डु टुडे २०८२ साउन १ गते १३:०३ मा प्रकाशित

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै छन् । दिउसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ । अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ ।

अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भैसकेको सुनिन्छ । अघिल्लो अडियोमा पनि मन्त्री अधिकारीको नाम गुप्ता र बिचौलियाले लिएको सुनिएकोमा मन्त्री अधिकारीले प्रतिनिधि सभा बैठकमा त्यसको प्रतिवाद गरेका थिए ।

उनले जुन औँलामा विष लागेको हो त्यही झर्ने दाबी गर्दै सो घटनामा आफ्नो संलग्नता नभएको दलिल गरेका थिए । पछिल्लो अडियोमा पनि गुप्तासँगको अडियोमा जस्तै खेम पुन, दीपा लगायतको नाम पनि लिइएको सुन्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us