काठमाण्डू, १ साउन– सत्ता घटक दल एमालेले आज (बिहिबार)देखि पार्टीको विधान महाधिवेशनको एजेण्डामा औपचारिक छलफल सुरू गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे एमालेको मुख्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ ।
साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको गौतमको भनाइ छ ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।