काठमाण्डू, १ साउन– सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । साथै दुर्घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थति न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तारमा छोइएको थियो ।
करेन्ट प्रवाहले तीनै जना घाइते भएका थिए । इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घाइतेहरुलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाएको थियो । अस्पतालमा उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।