उपेन्द्रको निर्णयसँगै राष्ट्रिय सभामा अल्पमतमा सरकार

काठमाण्डु टुडे २०८२ असार ३२ गते १६:५३ मा प्रकाशित

काठमाण्डू, ३२ असार– जनता समाजवादी पार्टी, (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो । सोही बमोजिम संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल संख्या अब ६ वटामा झरेको छ । गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जनाले समर्थन दिएका थियो । राष्ट्रिय सभामा त सत्तारुढ दलहरु अब अल्पमतमै पर्नेछ ।

३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै राष्ट्रिय सभामा सत्तारुढ अल्पमतमा परेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ ।

सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । यो संख्या जोड्दा २८ मात्र हुन्छ । तर विपक्षमा भने बहुमत जुटेको छ । माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us