काठमाण्डू, ३२ असार– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको दाबी गरेका छन । आज (बुधबार) महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै भौतिकमन्त्री दाहालले यस्तो बताएका हुन ।
उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने पनि बताएका छन । उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
भौतिकमन्त्री दाहालले भने, ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं ।’
उनले थपे, ‘यसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं ।’ उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय द्विविधा देखिएको बताए । दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् ।
यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको पनि बताएका छन । दाहालले ड्राइभिङ लाइसेन्सको समस्या हल भएको दाबी गरे । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको जिकिर गरे । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले १ साउनदेखि प्रदेशले नै दिने उनले जानकारी दिए ।