काठमाण्डू, ३२ असार– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको स्पष्ट पारेका छन ।
आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आइसकेको तर्क गरे । मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने स्पष्ट पारेका छन । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने पनि उनले बताए । सञ्चारमन्त्री गुरुङले भने, ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ ।
हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ, ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो ।’
राजीनामा दिएका मन्त्रीमाथि छानबिन हुने उनले बताए । ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’ उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ।’