काठमाण्डू, ३२ असार– प्रहरीले मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो भने फरार रहेको पनि प्रहरीले जनाएको छ ।
भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । ‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको उनले बताइन् ।
पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । यसअघि हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको देखिएको प्रहरीले जानकारी दिएको छ ।