काठमाण्डू, ३२ असार– प्रहरीले झुटो जाहेरी दिएर अर्कालाई फसाउन खोजेको आरोपमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअर्वा स्थित कटहरिया बस्ने ४१ वर्षीया प्रमिला देवी सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले अर्काको उक्साहटमा झुटो जाहेरी दिएको फेला परेपछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिएका छन ।
छिमेकीलाई फसाउन सहनीले आफ्नै छोरीलाई प्रयोग गरेर शरीर बन्धक, चेलिबेटी बेचबिखन तथा अपहरणको जाहेरी दिएकी थिइन् । यस्ता झुटा जाहेरी दिनेहरू विरुद्ध कारबाही गरिने एसपी गिरीले जानकारी दिएका छन ।
प्रमिला सहनी र जनक सहनीले छिकेकी सुनिता देवी सहनीको घरमा गएर कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडामा छलफल हुँदा ४ हजार औषधी उपचार खर्च दिनेगरी उनीहरूले मिलापत्र गरे ।
तर, कुटपिट गर्नेले पीडितलाई रकम दिएनन् ।त्यसपछि प्रमिलाले हुँदै नभएको घटनालाई कृत्रिम जाहेरी बनाएर फसाउन खोजेको आरोप छ ।