लिटरमै ५ रुपैयाँ घट्यो पेट्रोलको भाउ

काठमाण्डु टुडे २०८२ असार ३१ गते २०:२४ मा प्रकाशित

काठमाण्डू, ३१ असार– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिले बुधबार बिहान १ बजेबाट लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय गरेको हो । निगमद्वारा मंगलबार साँझ जारी सूचनामा उल्लेख भएअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर समान १ रुपैयाँ मूल्य घटेको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

निगमको वर्गीकरणअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । पहिलो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेल र मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डू पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४८ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us