राष्ट्रियसभा सदस्य न्यौपाने बन्दै सामान्य प्रशासनमन्त्री !

काठमाण्डु टुडे २०८२ असार ३१ गते १६:४० मा प्रकाशित

काठमाण्डू, ३१ असार– राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त हुने भएकी छन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्न लागेका हुन् । ‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ, ओली निकट स्रोतले भन्यो, ‘चाँडै नियुक्तीको पत्र राष्ट्रपति कार्यालय पठाइँदै छ ।’

तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ । न्यौपानेले आफूलाई मन्त्री नियुक्त गर्न लागेको अनौपचारिक ढंगले सुनेपनि औपचारिक खबर आइनसकेको बताइन् । हाल राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक रहेकी न्यौपाने ०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बनेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us