काठमाण्डू, ३१ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले काठमाण्डू महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति व्यक्त गरेकी छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै जसपाकी सांसद यादवले आपत्ति व्यक्त गरेकी हुन । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिएकी छन ।
रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाण्डू महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको पनि उनले बताइन् । उनले गैरकानुनी रूपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग समेत गरेकी छन ।
उनले भनिन्, ‘काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरीत कवाडी व्यवसायीहरूमाथि हमला भएको छ, काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । साथै गैरकानुनी हमलामा संलग्न अपराधीहरूलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौं ।’