काठमाण्डू, ३१ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक बर्ष बित्न नपाउँदै तीन मन्त्रीको जागिर चट भएको छ । ०८१ असार ३० गते नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
शपथ खाएको एक वर्ष पुगेको दिन नै घुस डिल गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नखाएको विषबाट आफू सिकार भएको भन्दै आरोपबारे अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर पदबाट राजीनामा दिएको बताए ।
यसअघि वैशाख ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । विद्यालय शिक्षा ऐन माग गर्दै चैत २० गते नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डू केन्द्रित आन्दोलन चर्किरहेको बेला भट्टराईले राजीनामा दिएकी थिइन् । विद्यालय विधेयक संसदबाट अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओलीकै असहयोग भएपछि भट्टराईले राजीनामा दिन बाध्य भएकी टिप्पणी हुँदै आएको छ ।
यद्यपि उनले अस्वस्थताको कारण राजीनामा दिएको बताउने गरेकी छन् । गुप्ता र भट्टराई दुवै जना एमालेबाट मन्त्री भएका थिए । यस्तै वैशाख १० गते उर्जाराज्यमन्त्री कान्छामान तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।
कांग्रेसबाट मन्त्री भएका तामाङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएकोमा असन्तुष्ट देखिएका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा तामाङलाई बर्खास्त गरिएको दाबी गरिएको थियो ।
घुस डिल प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारी समेत मुछिएका छन् । तर घुस डिल प्रकरणमा आफू संलग्न नभएको अधिकारीले जिकिर गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले आरोपको पुष्टि गर्न चुनौती दिएका थिए ।