काठमाण्डू, ३१ असार– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल वर्तमान सरकारमा सहभागी हुन लागेको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको दाबी गरेका छन् ।
यादवले आफूहरु काँग्रेस र एमालेसँग सत्ता बार्गेनिङमा नरहेको बताए । प्रधानमन्त्री केपी ओलीले सोमबार सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवालाई साक्षी राखेर यादवसँग प्रतिनिधिसभामा विचाराधीन भूमिसम्बन्धी विधेयकमा छलफल गरेका थिए ।
प्रतिनिधिसभामा झण्डै दुई तिहाई रहेको सत्तापक्ष राष्ट्रियसभामा अल्पमतमा छ । ६९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १६, एमालेका १० सांसद र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ सांसद् छन् । बहुमतका लागि सत्तापक्षलाई तीन सांसद् रहेको जसपाको समर्थन चाहिन्छ ।
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले भूमिसम्बन्धी विधेयकमा सहयोग मागेको यादवले बताए । तर, आफूहरुले स्पष्ट रुपमा सरकारले यसअघि पेश गरेको प्रावधान जस्ताको त्यस्तै राखेर विधेयक पारित गर्न नसकिने जवाफ दिएको बताए । तर, बालुवाटारबाटै जसपा सरकारमा आउन सकारात्मक देखिएको भन्ने गलत समाचार सम्प्रेषण गरिएको दाबी गरे ।
‘उहाँहरुले भूमि विधेयकमा सहयोग माग्नुभयो । हामीले भूमाफियालाई फाइदा पुग्ने विवादित प्रावधान नहटाएसम्म सहयोग गर्न नसकिने यसअघिकै अडान स्पष्ट रुपमा राख्यौं’, उनले काठमाण्डूटुडेसँग भने, ‘हामीलाई बदनाम गर्ने नियतले बालुवाटारबाटै सरकारमा आउन लागेको भन्ने अफवाह फैलाइयो ।’
जसपा कार्यकारीणी समिति बैठकले गत ९ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।