काठमाण्डू, ३१ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन ।
आज (मंगलबार) काठमाण्डूमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै माओवादी उपमहासचिव शर्माले यस्तो बताएका हुन । उपमहासचिव शर्माले ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीको सपना पूरा नहुने समेत बताएका छन ।
उनले खोलाको लाइसेन्स लगानी गर्नसक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब किताब पनि आफूले खोज्ने पनि बताएका छन । एउटा व्यक्तिलाई योजनाहरूको लाइसेन्स थुपारिदिँदा अन्य ऊर्जा उत्पादन गर्न खोज्नेहरूले योजना नपाइरहेको उनको भनाइ छ । आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरूले लगानी नगरिरहेको परिस्थिति रहेको उनलेबताए ।
यो अवस्थाको अन्त्य गर्न छुट्टै नीति ल्याउनुपर्ने पनि उनले बताए । उनले भने, ‘ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै होइन, हाम्रो सपना पूरा हुँदैन । हामी धेरै पछि परिसकेका छौँ । तपाईंहरुले दिने लाइसेन्सहरु त्यसको हिसाब किताव अब म खोज्नेवाला छु । कुन व्यक्तिलाई दिनुभएको छ ।
लगानी गर्नसक्नेलाई दिनुभएको छ कि बिक्री गर्नेलाई दिनुभएको छ रु भनेर हिसाव किताव दिनुभएको छ । डेभलपरहरूले योजना पाइरहेको छैन, आज खोलाहरू सबै दर्ता भइसकेका छन् । किन दर्ता भए रु उसले लगानी गरिरहेको छ कि छैन, उसले लगानी गर्नसक्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्ने छ ।’
उनले खोला बेच्ने कुरा मान्य नहुने भन्दै भने, ‘म ऊर्जामन्त्री हुँदा खोला बेच्ने कुराको अन्त्य गर्ने भनेर घोषणा गरेको थिएँ । त्यतिबेला रोकेको पनि थिएँ, कतिपय कुरा फिर्ता ल्याएको पनि हो ।
आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा छन् । आज उत्पादन गर्छौं भन्नेहरूले योजना पाइरहेका छैनन् । यो अवस्थाको अन्त्य गरियोस् ।’ शर्माले विद्युत् खरिद गरेर देश समृद्ध बन्ने नभइ विद्युतको खपतबाट मात्रै देश समृद्ध बन्ने बताए।