प्रचण्डलाई ओलीको जवाफः बनिरहेको प्यारापिट हेर्न जानुस्

काठमाण्डु टुडे २०८२ असार ३० गते १७:०७ मा प्रकाशित

काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे उठाएको प्रश्नमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्नेक्रममा प्रचण्डले कीर्तिपुर मैदानको फ्लडलाइट र प्यारापिटबारे प्रश्न गरेका थिए । त्यसप्रति सोमबार नै फेसबुकमा प्रतिक्रिया दिँदै ओलीले निर्माणाधीन प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइट पोल हेर्न जान सुझाव समेत दिएका छन ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’ ओलीले आफू प्रधानमन्त्री हुँदाका काम र प्रतिबद्धता सम्झाउँदै प्रचण्डको कार्यकालमाथि प्रश्न समेत गरेका छन ।

‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन, गर्नुभयो पनि छैन,’ ओलीको टिप्पणी थियो। ‘मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ,’ ओलीले थपे, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us