चरक र पाणिनी अर्घाखाँचीका थिएः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ असार ३० गते १३:२१ मा प्रकाशित

काठमाण्डू, ३० असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको बताएका छन । आज (सोमबार)त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु हाम्रो चिकित्सा विज्ञान शास्त्र र ज्ञान र अभ्यासको विश्वमा सबैभन्दा पुरानो इतिहास यहाँ छ । यस भूभागमा छ ।’ प्रधानमन्त्री ओलीले एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिका रहेका र नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरी नै विकास भइसकेको पनि बताएका छन ।

ओलीले भने, ‘तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए । खेल्दाखेल्दै एउटा साथीको औंलो काटिएर छुट्टिएपछि उनले औंलो ल्याएर जोडेका थिए । त्यहाँबाट शल्यक्रियाको दृष्टान्त पाइन्छ ।’ प्रधानमन्त्री ओलीका अनुसार नेपालमा जनसंख्या कम भएकोले सुश्रुतले वनारस गएर शल्यक्रिया राम्ररी अगाडि बढाएका थिए । ‘जहाँको भए पनि मानव जातिको सेवा गरे,’ उनले भने । उनले थपे, ‘अनेक ऋषिहरू, जनक ऋषि यहीँका थिए । पाणिनीलाई चरकका सन्तान भनिन्छ ।

अथवा चरक अर्घाखाँचीका थिए भने पाणिनी अर्घाखाँचीका थिए ।’ चरकलाई आयुर्वेद र चिकित्साशास्त्रका जनक भनेर मानिने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘त्रेतायुगमा लक्ष्मण बेहोस हुँदा हनुमानले जडिबुटी खोजेर ल्याएर खुवाएका थिए । चार हजार वर्षभन्दा अगाडिको समयलाई त्रेतायुग भनिन्छ’ उनले भने, ‘त्यो समयमा पनि यहाँ स्वास्थ्य विज्ञानको, स्वास्थ्य अभ्यासको व्यवस्था विकास भएको थियो ।

त्यसपछि यहाँ धेरै यस्ता विधाहरू विकास भए ।’ हिप्पोक्रेटसभन्दा अगाडि चरक र अरू ऋषिमुनिहरूले चिकित्सा विज्ञानको नेपालमा विकास गरेको प्रधानम्नत्री ओलीले जिकिर गरे ।

‘उसबेला अहिलेको जस्तो प्रोफेसरलाई ऋषिमुनि भन्ने चलन थियो’ उनले भने, ‘त्यसरी चिकित्सा विज्ञानको आदिम र उद्गम स्थल यस ठाउँमा अहिले हामी पछाडि परिरहेका छौं ।’ नेपालमा धेरै मानिसहरू बिरामी भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us