७८ लाख घूस माग्ने मन्त्रीलाई ओलीले बालुवाटार बोलाए

काठमाण्डु टुडे २०८२ असार ३० गते ११:२६ मा प्रकाशित

काठमाण्डू, ३० असार– घूस डिल गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलएका छन् ।

ओलीले घूस प्रकरणबारे बुझ्न मन्त्री गुप्तालाई बालुवाटार बोलाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र जिल्ला मालपोत कार्यालय कास्कीको प्रमुखको सरुवा रोक्न बिचौलियासँग डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले मालपोत प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोगको अध्यक्ष नियुक्ति गर्न २५ लाख मागेको स्पष्ट संवाद सुन्न सकिन्छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी माओवादी र रास्वपाले मन्त्री गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका थिए । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालबाट पनि मन्त्री गुप्ताको बर्खास्तीको माग भइरहेको छ ।

उक्त घूस प्रकरणमा भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी पनि मुछिएका छन् । अडियोमा मन्त्री गुप्ताले ‘बलरामले पैसा खाएर पनि काम गरेन’ भनेका छन् । तर, ओलीले अधिकारीलाई भने बोलाएका छैनन् । गुप्ता र अधिकारी दुवै प्रधानमन्त्रीको दल एमालेका प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनमा अधिकारी कपिलवस्तु–१ र गुप्ता पर्सा–३ बाट सांसद् निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us