सरकारले ओरालो यात्रा रोक्यो, सुधारका परिणाम देखिएः शंकर पोखरेल

काठमाण्डु टुडे २०८२ असार ३० गते ११:१५ मा प्रकाशित

काठमाण्डू, ३० असार– एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा ओरालो यात्रा रोकेको र सुधारका परिणाम देखिन थालेको दाबी गरेका छन् ।

वर्तमान सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेलले सरकारले गरेका सुधारका परिणाम सुस्पष्ट देखिएको दाबी गरेका हुन् ।

संसदका दुई ठूला दल काँग्रेस र एमालेबीच गत वर्ष १७ मंसिरको मध्यराति भएको ७ बुँदे सहमतिका आधारमा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिंदैछन्’, पोखरेलले लेखेका छन् ।
राजनीतिक स्थायित्व, सुशासन र संविधान संशोधनका लागि भन्दै काँग्रेस र एमालेले सत्ता गठबन्धन गरेका थिए ।

सुशासनको एजेण्डामा सरकारले सुधार गर्नुको साटो भ्रष्टाचार र बेथिति बढेको भन्दै सर्वसाधारण तहबाट चर्को आलोचना भइरहेको छ ।

गठबन्धन गर्नुको प्रमुख कारणका रुपमा औंल्याइएको संविधान संशोधनको एजेण्डामा सत्तारुढ दलले छलफलसमेत प्रारम्भ गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us