काठमाण्डू, २९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने दाबी गरेका छन ।
आज (आइतबार) एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै उनले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह समेत गरेका छन । उनले भने, ‘एमालेबिनाको देश र केपी ओली बिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन ।
एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो, एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’
उनले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए ।
अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाईसीएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार भएको पनि बताए ।