काठमाण्डू, २९ असार– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरू अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको दाबी गरेका छन । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा पार्टीका सबै विभागहरूको संयुक्त छलफललाई सम्बोधन गर्र्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको भन्दै प्रधानमन्त्री र पार्टी नेतृत्वले सरकार नढल्ने भनेर स्पष्टीकरण दिइरहनुपरेको तर्क गरे । एमाले महासचिव पोखरेलले वर्तमान समीकरण मन नपराउनेहरूले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको दाबी गरे । स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको पनि बताए ।
महासचिव पोखरेलले भने, ‘हरेक दुई महिनामा प्रधानमन्त्री र पार्टीका सभापतिले भन्नुपरिरहेको छ, यो सरकार जारी रहन्छ । यो समीकरण मन नपराउनेहरूले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेकै छन् ।
यो चिजलाई हामीले बुझ्नुपर्दछ । हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाइन्छ तर सरकार निरन्तर जारी छ । एक वर्ष हामीले गुजारीसक्यौँ ।
यो मुलुकमा स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित हुने जमात छ । उनीहरू निरन्तर रूपमा अस्थिरताका लागि सोसल मिडियाको दुरुपयोग गरिरहेका छन् ।’