काठमाण्डू, २९ असार– काठमाण्डू महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमायाचना गरेकी छन ।
आज (आइतबार) काठमाण्डू महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् ।
नगर सभाको बैठकमा उपमेयर डंगोलले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं ।’ यसबीचमा केही तितामिठा अनुभव भए पनि मन्थन हुँदै समाधानतर्फ गएको उनले बताएकी छन ।
उनले भनिन्, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन ०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए, ‘आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ ।
आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’ संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाण्डू महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।