काठमाण्डू, २९ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफको माग गरेको छ ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । उनले भनिन्, ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं ।’
उनले भनेकी छन्, ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’ तथापि बिचौलियाहरू किन डराइरहेका छैनन् भन्ने उनको प्रश्न छ । ‘सबैभन्दा दुखको कुरा चाहीँ– सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच ।
कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र smugglers हरूमा पलाएको हो ?,’ सुमनाको प्रश्न छ, ‘सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’
०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गरिन् ।
उक्त प्रतिवेदनले गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भनेर सरकारको ध्यानाकर्षण गरिन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्य दलमा केहि फरक नरहेको उनले बताइन् ।