काठमाण्डू, २९ असार–पूर्वपञ्च एवं पूर्वराजा ज्ञानेन्द्रद्वारा गठित ‘संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदी राप्रपा नेतृत्वविरुद्ध उजुरी लिएर निर्वाचन आयोग जाने भएपछि सो पार्टीले आपत्ति जनाएको छ ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राप्रपा परित्यागको स्वघोषणा गरेका सुवेदीलार्ई त्यसो नगर्न चेतावनी दिएका छन् ।
सुवेदीले पार्टी परित्याग गरेपछि अध्यक्ष राजेन्द्र लिङदेनले अनुशासन समिति संयोजकबाट हटाएर सांसदसमेत रहेकी रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएका थिए ।
उक्त निर्णय अवैधानिक रहेको भन्दै सुवेदी निर्वाचन आयोग जाँदैछन् । श्रेष्ठले सार्वजनिक रुपमै राप्रपा त्यागेको घोषणा गरेको व्यक्तिले राप्रपामै छु भनेर निर्वाचन आयोग नजान र लोकलाजको ख्याल गर्न आग्रह गरेका छन् ।
‘आदरणीय नवराज सुवेदी ‘बा’ सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लोकलाजको ख्याल गर्नुस् ‘बा’ जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस् ।’ श्रष्ठले सुवेदी राप्रपामा फेरि सक्रिय हुन सक्ने भए पनि बाटो त्यता नभएको स्मरण गराएका छन् ।
श्रेष्ठले गत ४ चैतमा राजावादीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी त्यागेको घोषणा गरेको भिडियो क्लिप पनि पोष्ट गरेका छन् ।
भिडियोमा सुवेदीले भनेका छन्, ‘मेरो बुताले, बर्कतले शरीरले भ्याएसम्म म यसैमा समर्पित हुन्छु । राप्रपाको साधारण सदस्य पनि रहिन ।’