एमाले र कांग्रेस रास्वपाभन्दा पनि नौजवान पार्टी होः योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ असार २८ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, २८ असार– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको तर्क गरेका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले सांसद भट्टराईले यस्तो बताएका हुन ।

उनले अहिले पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको पनि बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको उनले बताए । सांसद भट्टराईले भने, ‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन् ।

पुराना दलहरूको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरू छन् । कविन्द्र (रास्वपा महामन्त्री) जीहरू त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरूको त्यो आशा छ ।’ उनले दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने पनि बताए ।

राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको पनि उनले बताएका छन ।

उनले भने, ‘पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो ।

एमाले स्थापित भएको ७० वर्ष भयो, एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us