बैतडीमा जिप दुर्घटनाः दुईको मृत्यु, छ जना घाइते

काठमाण्डु टुडे २०८२ असार २८ गते १३:०० मा प्रकाशित

काठमाण्डू, २८ असार– बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन ।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान करिब ६ बजे सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राना र चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन ।

घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन् ।

तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डीएसपी जोराले जानकारी दिए । धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप सडकबाट झन्डै ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us