उपभोक्ता समिति दलका भर्ती केन्द्र बने, यसबाट काम नगरौंः योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ असार २६ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, २६ असार– पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने तर्क गरेका छन । आज (बिहिबार) प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो तर्क गरेका हुन । उनले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको पनि बताए ।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भएपनि पछिल्लो समय उपभोक्ता समितिहरूमा बेथितिका चाङ रहेको पनि उनले बताए । उनले उनले भने, ‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो ।

तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् । उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भएका छन्,’ उनले भने, ‘यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुनेगरी गुटबन्दी भइरहेको छ ।’

उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको पनि बताए । एमालेका सचिव समेत रहेका भट्टराईले उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने थलो बनेका कारण ऐन बनाएर उपभोक्ता समितिलाई कम गर्न नदिने व्यवस्था गर्न प्रस्ताव गरे ।

उनले भने, ‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us