प्रधानमन्त्रीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन

काठमाण्डु टुडे २०८२ असार २६ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, २६ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको दुवैको उद्घाटन गरेका छन् ।

७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन् । साथै, ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ ।

केन्द्रमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै चेनजिङ रुम, बाथरुम, लकर रुम, अफिस रुम, भण्डारण कक्ष, थेरापी रुम, स्टिम रुम, सुविधा सम्पन्न शौचालय लगायतका पूर्वाधार छन् ।

त्यसैगरी, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, लेग प्रेस, स्मिथ मसिन, फङ्सनल ट्रेनिङ सिस्टम, डम्बेल स्टेन्ड, बारबेल र्‍याकजस्ता अत्याधुनिक ३० भन्दा बढी जिम उपकरणहरू पनि जडान गरिएका छन् ।

खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको हो । आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने उद्देश्यले सेन्टर बनाइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us