
काठमाण्डू, २४ असार– नेपाल विद्युत् प्राधिकरणका सम्मेलनमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेपछि प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढाएको बताएका छन । आज (मंगलबार) आफूले नेतृत्व सम्हालेको सय दिनमा गरेका प्रयास सार्वजनिक गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन ।
उनले प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट कि.मि. र ३६६ एमभीए वृद्धि भई हाल सम्म कुल ६ हजार ७ सय ६९ सर्किट कि.मि को प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराएका छन ।
उनले भने, ‘कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज गरिएको छ, ‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’ उनले मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामूहिक खेती प्रणाली विकाशको अवधारणा अघि बढाएको पनि जानकारी दिए ।
‘त्यसका अतिरिक्त त्यस्ता जग्गा धनीहरूलाई विद्युत प्राधिकरणका आयोजनाहरूमा प्राथमिकताका साथ सेयर दिने व्यवस्थाका लागि पहल गरिएको छ,’ उनले भने, ‘दमौली भरतपुर १३२ के.भी प्रसारण लाइनको विद्युत् शक्ति बहाव गर्ने यस अघिको क्षमता ७० मेवा बाट वृद्धि गरी करिब १३० मेवा बनाउन निजी ऊर्जा उत्पादकहरूले मर्स्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण गरेको जलविद्युत आयोजनाहरूबाट उत्पादन भएको विद्युत सहज रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागि उक्त लाइनले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा प्राविधिक समस्या समाधान गरी वृद्धि भएको विद्युत बहाव गर्ने क्षमताको रहेको प्राविधिक जटिलताले गर्दा उक्त लाइन पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको थिएन ।
ढल्केवर ४०० के.भी. सवस्टेशनबाट निकालिएको लोहारपट्टी तर्फको दुई वटा १३२ के.भी. लाइन बे मध्ये हाल प्रणालीलाई आवश्यक नरहेको १ वटा लाइन बे लाई ढल्केबरदेखि हेटौडासम्मको निर्माणाधीन ४०० के.भी.को ढल्केबर सवस्टेशन नजिकको ४०० के.भी. टावरमा जोडी त्यहाँबाट निजगढसम्म निर्माण सम्पन्न भएको ४०० के.भी. लाइन मार्फत पुनः नजिकको पथलैया चन्द्रनिगाहापुर १३२ के.भी. डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा जोडी पथलैया १३२ के.भी. सवस्टेशनसम्म करिब २०० मेगावाट विद्युत शक्ति प्रसारण गर्ने प्रसारण प्रणालीको निर्माणको लागि कार्य आरम्भ गरिएको पनि जानकारी दिए ।
‘उक्त कार्य सम्पन्न भएको अवस्थामा हाल ढल्केबरदेखि चन्द्रनिगाहापुर सवस्टेशनसम्म १३२ के.भी. डबल सर्किट प्रसारण लाइनको अतिरिक्त अर्को १३२ के.भी. भोल्टेज लेभेलको विश्वसनीय वैकल्पिक बढी क्षमताको प्रसारण लाइनको लिङ्क हुन्छ,’ उनले भने,‘त्यसले गर्दा प्रणालीमा हुने ट्रिपिङ कम हुनुको साथै बर्खा याममा ढल्केबर सवस्टेशनबाट निर्यात हुने विद्युतको परिणाम समेत १०० मेगावाटले बढ्नेछ ।’