विश्वप्रकाशले छैठौंपटक प्रधानमन्त्री नबन्न सुझाएपछि रिसाए देउवा, आफू धेरै अप्ठ्यारो मानिस भएको चेतावनी

काठमाण्डु टुडे २०८२ असार २३ गते २१:१५ मा प्रकाशित

काठमाण्डू, २३ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन संसदको यो कार्यकालभर चल्ने बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठक समापनका क्रममा सोमबार पदाधिकारी र सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै देउवाले काँग्रेस र एमालेको गठबन्धन पूरै समय टिक्ने बताएका हुन् ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको पनि धेरैले विरोध गरेका थिए । तर, जवाफ दिने क्रममा देउवा ती विषयमा प्रवेशै गरेनन् । गठबन्धनमा समस्या आए संवादमार्फत समस्या समाधान गरेर अगाडि बढ्न सकिने उनको भनाइ थियो ।

महामन्त्री विश्वाप्रकाश शर्माले बैठकमा आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने र पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्ने देउवाको सार्वजनिक अभिव्यक्तिको सराहना गरे ।

तर, उनले छैठौंपटक प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाए । प्रधकानमन्त्री बन्न छाडेर सम्मानजनक बाटो रोज्न सके देउवाको उचाई सगरमाथाजत्तिकै उच्च हुने शर्माले उल्लेख गरे ।

आफूलाई देउवाको शुभेच्छुक दाबी गर्दै शर्माले एमालेसँगको सहमतिअनुसार ०८३ मा आफू प्रधानमन्त्री नबनी अरु कोही नेताको नाम अघि सारेर अभिभावकत्व लिन सुझाव दिएका थिए । देउवाले शर्माको प्रस्ताव रुचाएनन् । उनको त्यसको ठाडो प्रतिवाद गरे ।

देउवाले आफू चार वर्षे नियमित कार्यकालका लागि सभापति भएको बताए । पार्टी विधानले थप एक वर्ष र संविधानले ६ महिना म्याद थप गर्ने सुविधान दिएको सुनाए ।

देउवाले आफूले के गर्ने भन्ने विषयमा कसैले भनिरहनु नपर्ने जवाफ शर्मालाई फर्काए ।

‘म के गर्छु मेरो कुरा हो । मैले कसैलाई भनेर गर्ने होइन । म अप्ठेरो मानिस हुँ नि । विचार गर्नुस्’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us