कुलिङ पिरियडको विवाद छानबिन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन 

काठमाण्डु टुडे २०८२ असार २३ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, २३ असार– प्रतिनिधिसभाबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको छ ।

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेको सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा जानकारी गराएका छन ।

सभामुख घिमिरेका अनुसार संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहेका छन ।

सभामुखले वाचन गरेको नामावलीअनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् ।

नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् । शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us