अहिलेसम्म भेटिएनन् अनामनगरबाट हराएका अछामका कुँवर

काठमाण्डु टुडे २०८२ असार २३ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, २३ असार– काठमाण्डूको अनामनगरबाट बेपत्ता भएका अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाण्डू महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुँवर हराएको पाँच दिन भइसक्दा समेत भेटिएका छैनन् ।

यही असार १७ गते बिहिबार महानगरपालिका–२९ अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।

देवबहादुरले भने, ‘काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’

कुँवर हराउनु भएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, ‘कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत प्रयास भइरहेका छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us