
काठमाण्डू,२० असार– प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।
१५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ परेका थिए । समूहका नाइके पाण्डे १८ असारमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार यो समूहले ११ असार बिहान विराटनगर महानगरपालिका– १५ का विक्रमकुमार साह तेलीलाई अपहरण गरी उनको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटेर लगेको थियो ।
प्रहरी हुँ भन्दै पुगेका तीन जनाको समूहले विराटनगर–१३ महतो टोलबाट साहलाई अपहरण गरेर लगेको थियो । विराटनगर–१४ जतुवामा पुर्याएर लुटपाट गरेपछि साहलाई छाडेको थियो । लुटपाटपछि कसैलाई भने मारिदिने धम्की दिएको थियो ।
प्रहरीका अनुसार साहलाई लिएर जानुअघि आफन्तलाई जिल्ला आउनु भन्दै धम्काएका थिए । प्रहरीले पक्राउ गरी जिल्ला ल्याएको भन्दै आफन्त प्रहरी कार्यालय आएपछि लुटपाटको विषय सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार अपहरण तथा लुटपाटमा संलग्न तीन जना पटके अपराधी हुन् । ३० साउन २०८० साउनमा उनीहरूले विराटनगर महानगरपालिका– १० संसारी माइस्थानमा दिनदहाडै महम्मद हलिम खानलाई तरबार प्रहार गरेका थिए । यो घटनामा पक्राउपछि हुसेन र अन्सारी अदालतबाट सफाइ पाएका थिए । प्रहरीका अनुसार पाण्डे भने फरार सूचीमा थिए ।
पाण्डे विराटनगरमै भए पनि माओवादी केन्द्रका स्थानीय नेताको संरक्षणमा रहेका कारण प्रहरीले पक्राउ गर्न चासो दिएन् । प्रहरीका नाममा अपहरण र डकैत गरेपछि भने उनलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार प्रहरीको रेकर्डमा पाण्डेविरुद्ध दुई वटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा छ ।