
काठमाण्डू, १९ असार– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आज (बिहिबार) बसेको सचिवालय बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन ।
प्रवक्ता ज्वालाले भने, ‘तयारी पनि राम्रो पुगेको थिएन । फेरि महासचिवलाई अलिक सञ्चो पनि नभएकाले बैठक स्थगित गरिएको हो ।’ पार्टीका अर्का उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रीय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गर्यौं । सचिवालय सदस्यहरूको स्वास्थ्य समस्या आएका कारणले अरू समय बस्नसक्ने अनुकूलता भएन ।’
बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भएको उनले जानकारी दिए । अर्को बैठक २२ असारका लागि राखिएको छ ।