
काठमाण्डू, १ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन ।
उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद् अवरुद्ध गरिनु राम्रो नभएको तर्क गरे । उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद् अवरुद्ध पार्नु राम्रो नभएको पनि बताए ।
प्रमुख सचेतक घिमिरेले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘उहाँहरूले आफ्नो पार्टीको आफ्नो धारणाहरू राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरू पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरूले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो ।
अब चाहियो के ? उहाँहरूले विशुद्ध रूपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरूले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरू केही कुरा भएन ।’प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसाबले संसदलाई प्रयोग गर्न नमिल्ने बताएका छन ।